No products in the cart.
नेकोनको पाँचौं वार्षिक साधारण सभा २०१३
नेप्लिज एसोसिएसन अफ कनेक्टिकटको पाँचौं वार्षिक साधारण सभा सेप्टम्बर २९, २०१३ मा सम्पन्न भएको छ । कार्यक्रमको पहिलो चरणमा प्रमुख अतिथि डा. विद्या रन्जितले नेकोनले अल्प समयमा गरेका महत्वपूर्ण कार्यक्रमहरुको प्रशंशा गर्दै संस्थाको सामुदायिक भवन बनाउने निर्णय सह्राहनीय भएको र यसमा आफुले पनि सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्नु भयो । उहाँले नेपाली संस्थाको अभिवृद्धि हुनु हामी सबैको लागि गौरवको विषय भएको र यसले नयाँ पुस्तालाई लक्षित गरेर कार्यक्रम तर्जुमा गर्नु पर्ने कुरामा जोड दिनु भयो |
उक्त अवसरमा उपस्थित आजीवन तथा साधारण सदस्यहरुलाई नेकोन कार्यकारी समितिको तर्फबाट श्री राज कुमार श्रेष्ठले कार्यक्रममा स्वागत गर्नु भएको थियो भने आजीवन तथा साधारण सदस्यको तर्फबाट संस्थाका आजीवन सदस्य श्री अनिल कन्वरले समाजको अभिवृद्धिको लागि नेकोनले गरेको कार्यप्रति आफु प्रभावित भएको कुरा व्यक्त गर्दै प्रोत्साहन स्वरूप संस्थालाई $ १,००० प्रदान गर्नु भएको थियो ।
कार्यक्रमको दोश्रो चरणमा संस्थाका अध्यक्ष श्री घनश्याम खड्काले संस्थाको वार्षिक प्रतिवेदनमा भविष्यमा गरिने संस्थागत योजना तथा कार्यक्रमहरुलाई आवश्यक पर्ने कार्यक्रमहरु प्रस्तुत गर्नु भएको थियो | कोषाध्यक्ष श्री अर्जुन दाहालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने उक्त अवसरमा संस्थाको आय व्ययको विषयमा पनि व्यापक छलफल पनि गरिएको थियो | श्री दाहालद्वारा प्रतिवेदनमा संस्थाले गत आर्थिक वर्षमा $ ६६,००० को आर्थिक कारोवार गरेको तथ्यांक उल्लेख गरिएको थियो | सहभागी सदस्यहरुको जिज्ञासालाई प्रष्ट पार्दै उक्त दुवै प्रतिवेदनहरु सर्व सम्मतिबाट पारित गरिएको थियो |
संस्थाका प्रमुख सल्लहाकार डा. गान्धीराज भट्टाराईले आफुलगायत संस्थामा आवद्ध सबैले व्यस्त समयका विरुद्ध पनि संस्थाको अभिवृद्धिको लागि विशेष समय निकालेर संस्थालाई अगाडि बढाउने कार्य भएको कुरा व्यक्त गर्नु थियो ।
उक्त वार्षिक साधारण सभाको संचालन संस्थाका सह सचिव श्री रोमी योञ्जनले सुचारु रूपमा गर्नु भएको थियो ।
अन्त्यमा संस्थाका अध्यक्ष श्री घनश्याम खड्काले प्रमुख अतिथि, सल्लाहकार समिति, कार्यकारी समिति, उप समिति, आजीवन सदस्य, तथा साधारण सदस्यहरुलाई अध्यक्षको प्रतिवेदन र कोषाध्यक्षको अर्थिक प्रतिवेदन उपर विशेष जिज्ञाषा सहित सकारात्मक सुझावका साथ सर्व सम्मतिबाट अनुमोदन तथा पारित गरिदिनु भएकोमा धन्यवाद दिंदै उक्त कार्यक्रमको समापन गर्नु भएको थियो |