No products in the cart.
२५५८ औं बुद्ध जयन्ती
नेप्लिज एसोसिएसन अफ कनेक्टिकटलले मनाउने गरेको बुद्ध जयन्तीमा आफ्नै मौलिकपन झल्किने गरेको पाइएको छ | औपचारिक कार्यक्रमको रूपमा आरम्भ भएको उक्त कार्यक्रम बौद्ध गुरु गेलु लामाको मन्त्रोच्चारणबाट सुरु भएको थियो | संथाका अध्यक्ष घनश्याम खड्काको सभापतित्वमा आरम्भ उक्त कार्यक्रमममा “बुद्धम शरणं गछामि” को मूलमन्त्र संगै आरम्भ भएको थियो |
स्वागत मन्तव्यको क्रममा संस्थाका सचिव जय कुमार राईले बुद्धले आफ़्नोलागि मात्र नभई सम्पूर्ण मानवजातिको मुक्तिको लागि ज्ञान मार्गको उपहार दिएको प्रसङ्ग उल्लेखित गर्दै दु:ख, कष्ट, अशान्तिबाट मुक्तिको मार्ग पैल्याई संसारलाई शान्ति, दया, मैत्रीको संदेश दिएको कुरा उल्लेख गर्दै प्रेम, सद्भाव,करुणा एवं दयाका प्रतिमूर्ति भगवान बुद्धको जन्म जयन्तीमा पाल्नुहुने भक्तजनहरुलाई स्वागत गर्नु भएको थियो |कार्यक्रममा अतिथिको रूपमा संस्थाका पूर्व अध्यक्ष सन्तोष लम्साल, डा. हरि इराला तथा नेप्लिज असोसिएसन इन अमेरिकाका प्रतिनिधि रामचन्द्र रेग्मी रहनु भएको थियो ।
वक्तव्यको क्रममा डा. हरि कोइरालाले बुद्ध संसारका सबैभन्दा ठूला गुरु भएको तर्क प्रस्तुत गर्नु भयो | अर्का वक्ता अर्जुन सापकोटाले बुद्धले ज्ञान प्राप्त गर्ने क्रममा गर्नुभएका प्रमुख प्रयोगहरुका विषयमा चर्चा गर्नु भएको थियो |
औपचारिक कार्यक्रमको समापन गर्दै सभापति खड्काले वर्तमान संसारमा युद्धको सन्त्रास दिनानुदिन बढिरहेको एवं लोभ, मोह, राग, द्वेष, ईर्ष्याबाट पैदा भएको भयलाई शान्तिदूत भगवान बुद्धको शिक्षाले हामीलाई शान्तिको बाटोमा हिंड्न प्रेरित गरेको कुरा उल्लेख गर्नु भयो |
कार्यक्रमका संयोजक रोमी योञ्जनको कुशल संयोजनमा आयोजित उक्त कार्यक्रम बुद्धको ध्यान तथा परिक्रमा पश्चात शिशु बुद्धलाई जल चढाउने कार्यसंगै समाप्त भएको थियो | अन्तमा स्वादिष्ट कोरियन शाकाहारी भोजनले श्रद्धालुहरुमा नयाँ पनको आभाष दिएको थियो |
उक्त कार्यक्रम इन्टर नेशनल बुद्धिष्ट टेम्पल एंड मेडिटेसन सेन्टर न्यु हार्टफोर्ड, कनेक्टिकटमा सम्पन्न भएको थियो |