No products in the cart.
नयाँ वर्ष कार्यक्रम २०७२
नेपाली नयाँ वर्ष २०७२ सालको उपलक्ष्यमा कनेक्टिकट राज्यमा रहेका नेपालीहरु माझ शुभकामना आदान प्रदान तथा विविध मनोरञ्जन प्रदान गर्ने उद्देश्यका साथ कनेक्टिकट नेपाली समाज (नेकोन) ले अप्रिल १२ तारिख आइतबारका दिन नव वर्ष सांस्कृतिक साँझ २०७२ भव्यताका साथ सम्पन्न गर्यो । संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि महामहिम राजदूत दुर्गा प्रसाद भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न उक्तर्यक्रममा अमेरिका स्थित नेपाली महावाणिज्य दुतावासका उप महावाणिज्य दूत प्रविण भट्टराई, विभिन्न संघसंस्थाका प्रतिनिधिकासाथै उल्लेखनीय रुपमा कनेक्टिकट बासी नेपालीहरुको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा संस्थाको मुखपत्र कनेक्टिकट चौतारीको तेस्रो अंक विमोचन, संस्थाको विभिन्न कार्यमा महत्वपूर्ण योगदान पुर्याउने महानुभावहरुलाई सम्मानका साथै विविध सांस्कृतिक कार्यक्रम गरिएको थियो । कार्यक्रमको समुदघाटन गर्दै राजदूत भट्टराईले यस्ता कार्यक्रमले नेपाली चालचलन,सांस्कृतिक परम्परालाई झल्काउनुकासाथै नयाँ पुस्ताकोलागि अनुकरणीय हुने बताउंदै स्वदेश तथा विदेशमा रहेका नेपालीहरुमा सुख,शान्ति र समृद्धिको कामना गर्नुभयो । कार्यक्रमका सभापति एवं संस्थाका अध्यक्ष घनश्याम खड्काले संस्थाले निरन्तर रुपमा पर्व कार्यक्रम,भाषा पाठशाला संचालन गदै आएको र यसै वर्ष सिन्धुपाल्चोक जिल्लाको बाढिपहिरो पिडीत तथा फिलिपिन्सका आँधी पीडितकालागि समेत सहयोग गरेको जानकारी गराउंदै संस्था नयाँ छलाङ्ग मार्ने मोडमा रहेको बताउनुभयो ।
उहाँले बहुउद्देशीय सांस्कृतिक भवन संस्थाको ड्रिम प्रोजेक्ट भएकाले सबै सँग सहयोग आह्वान गर्नुभयो । संस्थाका उपाध्यक्ष तेजेश विक्रम मल्लले स्वागत मन्तव्य दिंदै संस्थाकालागि अत्यावश्यक ठानिएको बहुउद्देशीय सांस्कृतिक भवनको लक्ष्य चांडै पुराहुने विश्वास व्यक्त गर्नुभयो । संस्थाको मुखपत्र कनेक्टिकट चौतारीको तेस्रो अंकको विमोचन प्रमुख अतिथिबाट भएको थियो भने चौतारी प्रकाशनका सम्पूर्ण समुहलाई प्रधान सम्पादक राम कुमार सुवेदीले धन्यवाद ज्ञापन गर्नुभयो ।
उक्त कार्यक्रममा असिस्टेन्ट चार्टर एकाउन्टेन्ट रंजित कोईराला, हल उपलब्धकर्ता टेस्ट अफ इन्डिया,पर्वतारोही मिङमा शेर्पा, संस्थाको लोगो डिजाईनर देवलाल मोक्तान, मिस पर्सनालिटी पूजन पनेरु,सहयोगकर्ता बिजेन्द्र बहादुर सिंह तथा संस्थाका नव आजीवन सदस्यहरुलाई सम्मान गरिएको थियो।गैरआवासीय संघ अमेरिकाको वोर्ड अफ डिरेक्टर लक्ष्मी बजगाईंले शुभकामना सन्देश दिनुभएको थियो भने हार्डफोर्ड तथा वेस्ट हार्डफार्डका मेयरहरुले पठाउनु भएको शुभकामना सन्देश सस्थाका सचिव जय कुमार राईले वाचन गनुभएको थियो । कार्यक्रमको मुख्य आकर्षणको रुपमा विविध सास्कृतिक कार्यक्रम रहेको थियो जसमा स्थानीय कलाकारहरुले नेपाली भेषभुषा, संस्कृति झल्कने अतिनै आकर्षक र मनमोहक गायन तथा नृत्यहरु प्रस्तुत गरेका थिए जसको संयोजन कार्यकारी समितिका सदस्य केशव शर्मा दाहालले गर्नुभएको थियो भने भेषभुषातर्फको संयोजन सहकोषाध्यक्ष रेखा गौतमले गर्नुभएको थियो । सहभागी कलाकारहरुलाई अध्यक्ष घनश्याम खड्काले प्रशंसा पत्र प्रदान गर्नुभएको थियो । कोषध्यक्ष अर्जुन दाहालले आकर्षक शैलीमा उदघोषण गर्नुभएको थियो भने उहाँलाई पूजन पनेरुले साथ दिनुभएको थियो । सहभागिको तर्फबाट कार्यक्रममा सहभागी ८५ बर्षिय इन्द्र बहादुर थापाले कार्यक्रम एकदमै राम्रो लागेको र आफु नेपालमै रहेको अनुभूति भएको प्रतिक्रिया दिनुभयो ।
विविध कार्यक्रमका अतिरिक्त अमेरिकास्थित नेपाली महावाणिज्य दुतावासका उप महावाणिज्य दूत श्री प्रविण भट्टराई स्वयम उपस्थित भई मेशिन रिडेवल पासपोर्टं(एम.आर.पि) वितरण गर्नुभएको थियो । उक्त अवसरमा करिव ८५ थान एम.आर.पि वितरण गरिएको संस्थाका एम.आर.पि कार्यक्रम संयोजक राज श्रेष्ठले जानकारी दिनुभयो । स्मरण रहोस्, नेकोनले संयुक्त राज्य अमेरिकाको कनेक्टिकट राज्यमा आफ्नो स्थापनाकालदेखि नै नेपालीहरुको महान पर्व बडा दशैं, दीपावली तथा नयाँ वर्षको उपलक्ष्यमा विविध सांस्कृतिक कार्यक्रम गर्दै आईरहेको छ साथै नेपाल तथा अन्य स्थानमा भएको दैवि प्रकोपको बेला सहयोग गर्दैआईरहेको छ । संस्थाले हाल आएर स्वास्थ्य वीमा तथा ट्याक्स फाईल अभिमुखिकरण, सहुलियत दरमा ट्याक्स फार्इिलङका साथै एम.आर.पि वितरणमा सहयोग जस्ता सदस्यमुखी कार्यक्रम संचालन गरिरहेको छ ।