सम्पूर्ण गतिविधीहरु

भुकम्प पिडितलाई सहयोग

केशब शर्मा दाहाल, कनेक्टिकट, जुलाई २०/ नेपालमा हालै गएको महाबिनाशकारी भूकम्पमा परी हजारौ संख्यामा जन धनको क्षति भएको तथा कैयौको संख्यामा घाईते भई मुलुक अस्तव्यस्त भएको अवस्थामा उक्त संकट समाधान गर्नका लागि देश तथा विदेशबाट समेत विभिन्न संघ संस्था र व्यक्तिहरुबाट आवश्यक भौतिक एवं आर्थिक सहयोग भई रहेको सन्दर्भमा अमेरिकामा रहेको कनेक्टिकट नेपाली समाज (नेप्लिज एसोसिएसन अफ कनेक्टिकट ) ले आफ्नो नेतृत्वमा जम्मा गरेको राहत रकम ४७ हजार पाच सय सत्र डलर र नौ सेन्ट हालै एक बिशेष कार्यक्रमको अयोजना गरि नेपाल सरकार का प्रतिनिधि अमेरिकाका लागि नेपालका महामहिम राजदूत डा. अर्जुन कुमार कार्की समक्ष हस्तान्तरण गरेको छ।

उक्त अवसरमा राजदूत डा. अर्जुन कुमार कार्की समक्ष नेपाली समाज कनेक्टिकटका अध्यक्ष श्री शंकर प्रसाद ढकालले सो रकमको चेक हस्तान्तरण गरेका छन। सो चेक हस्तान्तरण कार्यक्रममा राजदूत कार्कीले बिदेशमा बसेका नेपालीहरु र संस्थाहरुले नेपाल र नेपाली प्रतिको देखाएको सद्भावको प्रशंसा गर्दै सो रकम नेपाल सरकारले भुकम्पबाट प्रभावित परिवारको राहत र उद्दारमा सहयोग पुग्ने गरी प्रयोग गरिने भनाइ राखे| उनले यस्ता बिपतका समयमा गैर आवासीय नेपालीहरुले बेला बेलामा आर्थिक सहयोग गरेर आफ्नो जन्मभुमी प्रती देखाएको स्नेह र प्रेमले आफु निकै प्रभावित भएको बताए। उनले संविधानको बारेमा र टि.पी.एस (Temporary Protected Status) को बारेमा पनि प्रकाश पार्दै कनेक्टिकट नेपाली समाजलाई नेपाल सरकारलाई गरेको सहयोग प्रती हार्दिक धन्यवाद दिएका थिए |

उक्त अवसरमा संस्थाका अध्यक्ष शंकर ढकालले संस्थाले उठाएको सो रकम संकलन गर्न सम्पूर्ण कनेक्टिकटवासी र बिभिन्न संघ संस्थाको सहयोग एव बालबालिकाहरुले महत्वपुर्ण भूमिका खेलेको चर्चा गर्दै संस्थाका पुर्व कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरु र राहत संकलन कार्यमा जुट्ने सबैलाई हार्दिक धन्यवाद ब्यक्त गरे |उक्त राहत संकलन कार्यको संयोजक रमेश के. सी. ले सबैको सहयोगबाट रकम संकलन सम्भव भएको बताउदै सहयोग गर्ने सबै मनोकारीलाई धन्यवाद दिएका थिए।

सो कार्यक्रमको स्वागत मन्तब्य संस्थाका सचिब नारायण पौडेलले गरेका थिए भने कार्यक्रम संस्थाका सहसचिब केशब शर्मा दाहालले संचालन गरेका थिए। सो कार्यक्रममा नेकोनका प्रमुख सल्लाहकार केदार खतिवडा, एन आर एन कनेक्टिकट च्याप्टरका अध्यक्ष राम प्रसाद ओझा, कालिदास शर्मा, उत्तम लोहनी, अशोक श्रीवास्तब लगायतले मन्तब्य राखेका थिए।

उक्त कार्यक्रम सम्पन्न भए लगत्तै राजदूत कार्कीले नेकोनद्वारा संचालित ग्रिष्मकालिन नेपाली भाषा पाठशालाको अवलोकन गरेका थिए | सो अवसरमा भाषा पाठशालाका संयोजक राजन तिम्सिनाले बालबालिकाले भाषा पाठशालाबाट लाभ उठाएको बारेमा प्रकाश पारेका थिए |