सम्पूर्ण गतिविधीहरु

नेपाली भाषा कक्षा तेश्रो वर्षमा

नेप्लिज एसोसीयशन अफ कनेक्टिकटको नेपाली भाषा कक्षा :
मे १६, २०१४, वेष्ट हार्टफोर्ड, कनेक्टिकट । झण्डै दुई हजारको हाराहारीमा नेपालीहरुको बसोवास रहेको कनेक्टिकट राज्यमा नेप्लिज एसोसिएसन अफ कनेक्टिकट (नेकोन) ले तीन वर्षअघिदेखि नेपाली बालबालिकाहरुका लागि नेपाली भाषा, संस्कृति र परम्परालाई समेटेर सफलतापूर्वक नेपाली भाषा कक्षा परियोजना संचालन गर्दै आएको छ ।
गत महिना नेकोनका अध्यक्ष घनश्याम खड्काको सभापतित्वमा बसेको कार्यसमितिको बैठकले सो कार्यक्रम संचालन गर्नको लागि राज कुमार श्रेष्ठको संयोजकत्वमा ६ सदस्यीय व्यवस्थापन समिति खडा गरेको छ, अन्य सदस्यहरुमा रमेश के.सी., रमेश पाठक, शिव न्यौपाने र माधव आत्रेय र गोपाल गौतम रहेका छन् ।नेपाली भाषा कक्षा संचालन व्यवस्थापन समितिका तर्फबाट समितिका संयोजक राज कुमार श्रेष्ठलेद्वारा प्रेषित विज्ञप्ति अनुसार कनेक्टिकटमा बसोवास गर्ने सम्पूर्ण नेपाली बालबालिकाहरुलाई लक्षित गरी जून महिनाको २१ तारिखदेखि कक्षा संचालन गर्ने प्रवन्ध मिलाइएको र भर्ना फारामहरु अभिभावकहरु समक्ष पठाउने कार्य प्रारम्भ भईसकेको छ । संयोजक श्रेष्ठका अनुसार ७ वर्षदेखि १३ वर्ष उमेरका बालबालिकाहरुलाई नेपाली भाषाका साथै नेपाली संस्कृति सम्बन्धी कार्यक्रम तथा अतिरिक्त क्रियाकलापको रुपमा ऐतिहासिक तथा महत्वपूर्ण स्थलहरुको भ्रमण जस्ता कार्यक्रम पनि समावेश गर्ने योजना रहेको छ । करिव तीन महिना संचालन हुने उक्त नेपाली भाषा कक्षा कार्यक्रममा बालबालिकाहरुको उत्साहजनक सहभागिता हुने कुरा संयोजक श्रेष्ठले बताउनुभएको छ ।
यस वर्षदेखि व्यवस्थापन समितिले शिक्षकहरुलाई भाषा शिक्षण विधि, कक्षा संचालन प्रविधि, शिक्षण सामग्रीको विकास सम्बन्धी आवश्यक तालीमको व्यवस्था गर्न लागेको जानकारी पनि संयोजक श्रेष्ठले दिनुभएको छ । दैनिक जीवनमा प्रयोगमा आउने बोलिचालीको नेपाली भाषालाई पाठ्यक्रममा समावेश गराई भाषा सिकाईलाई व्यवहारिक तथा प्रभावकारी बनाउनको लागि अभिभावकहरुको सुझाव र सरसल्लाह संकलन गर्ने उद्देश्यले अभिभावक तथा शिक्षक अधिवेशन राख्न लागिएको कुरा उहाँले व्यक्त गर्नु भयो ।
आशा छ, अमेरिकामा नेपाली भाषा तथा संस्कृतिको जगेर्ना गर्ने तथा हाम्रो चिनारीको संरक्षण गर्ने नेपालीहरुको प्रयासमा नेप्लिज एसोसिएसन अफ कनेक्टिकट (नेकोन) को यो कार्यक्रम कोशे ढुङ्गो साबित हुनेछ ।

डि. सी. नेपालमा छापिएको समाचार

जनपुकारमा छापिएको समाचार